२७ साउन,वीरगञ्ज । जनकपुरधामस्थित धनुषा जिल्ला अदालत अगाडि बुधबार मिटरब्याज पीडितले प्रदर्शनका क्रममा आत्मदाहको प्रयास गरेकी छन् ।
मिटरब्याज पीडितहरूले अदालत अगाडि नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेका बेला जनकपुरधाम–४ की फुलकुमारी रजकले आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी हुन् । प्रहरीले तत्काल हस्तक्षेप गरी उनलाई रोकेको थियो ।
बुधबार धनुषा जिल्ला अदालतमा पक्राउ परेका मिटरब्याज साहुविरुद्ध थुनछेक बहस भइरहेको छ । गोपाल साह, रेखा साह र हरेराम साहविरुद्ध थुनछेक बहस चलिरहेको हो ।
अदालतभित्र आरोपित साहुविरुद्ध बहस भइरहेका बेला अदालत बाहिर मिटरब्याज पीडितहरूले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । पीडितहरूले आफूहरूमाथि भएको अन्यायको सम्बोधन तथा मिटरब्याजसम्बन्धी विवादमा न्यायको माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रहरीले आत्मदाहको प्रयास गरेकी रजकलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।
