२७ साउन,वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा सहअस्तित्व प्रवर्द्धनका लागि ‘बाघ मित्र’ अभियान विस्तार गर्ने तयारी गरिएको छ ।
निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाका अनुसार हालै गरिएको बाघ गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुगेको छ । यसअघि निकुञ्जमा ४१ वटा बाघ रहेकामा पछिल्लो गणनामा ३० वटा थपिएपछि सङ्ख्या ७१ पुगेको हो ।
बाघको सङ्ख्या बढेसँगै वन्यजन्तुप्रतिको नागरिकको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने तथा मानव–बाघबीच सहअस्तित्व कायम गर्ने उद्देश्यले अभियानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको खतिवडाले बताए । अभियानमार्फत वन्यजन्तुबाट हुने मानवीय क्षतिलाई न्यूनतम गर्दै शून्यमा झार्ने लक्ष्य राखिएको छ ।
निकुञ्जसँग जोडिएका पर्सा, बारा र मकवानपुरका डिभिजन वन कार्यालयसँगको समन्वयमा समुदायस्तरमा अभियान सञ्चालन भइरहेको निकुञ्जले जनाएको छ । अभियानअन्तर्गत समुदायको सहभागितामा वन्यजन्तुको महत्वबारे जनचेतना फैलाउने, वन्यजन्तुबाट सुरक्षित रहने उपायबारे जानकारी दिने तथा समस्या परेको अवस्थामा अपनाउनुपर्ने प्रक्रिया र राहत प्राप्त गर्ने विधिबारे अन्तरक्रिया तथा छलफल गरिँदै आएको छ ।
निकुञ्ज प्रमुख खतिवडाले आहारको खोजीमा कहिलेकाहीँ बाघ जङ्गलबाट बाहिर निस्कने भएकाले बाघ देख्नेबित्तिकै नकारात्मक धारणा बनाउने प्रवृत्ति रहेको बताए । त्यसलाई परिवर्तन गर्दै समुदायमा बाघप्रति सकारात्मक धारणा विकास गर्ने र बाघबाट सुरक्षित रहने उपायबारे सचेतना फैलाउने अभियानको उद्देश्य रहेको उनको भनाइ छ ।
“बाघ हाम्रो शत्रु होइन, उसको पनि अस्तित्व छ । बाघलाई संरक्षण गरेर पर्यापर्यटन प्रवर्द्धन गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश समुदायमा पुर्याउन आवश्यक छ,” खतिवडाले भने ।
उनका अनुसार जङ्गलमा डढेलो लगाउने, चोरी–तस्करी गर्ने लगायतका मानवीय गतिविधिका कारण वन्यजन्तुको प्राकृतिक बासस्थान प्रभावित हुँदा उनीहरू आहार तथा सुरक्षित स्थानको खोजीमा जङ्गल बाहिर निस्कने गरेका छन् । यसबाट मानव–वन्यजन्तुबीच द्वन्द्वको अवस्था सिर्जना हुने गरेको उनले बताए ।
निकुञ्जले बाघको बढ्दो सङ्ख्यासँगै समुदायलाई संरक्षण अभियानमा जोड्दै मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ ।
