काठमाडौं । जापान पठाइदिने प्रलोभन देखाएर एक सय १५ जनाभन्दा बढी युवायुवतीबाट करोडौँ रकम ठगी गरेको गम्भीर आरोपमा प्रहरीले एक कन्सल्टेन्सीका मुख्य कार्यकारी अधिकृत (सीईओ) लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाङ्गाथली निवासी २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन् । गेटस्वि एन्टरनेशनल प्रालि नामक कन्सल्टेन्सी सञ्चालन गर्दै आएका बुढाथोकीले जापान उडाउने बहानामा विभिन्न व्यक्तिहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ उठाएर सम्पर्कविहीन बनेका थिए ।
वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा नेपाल प्रहरीले उनलाई सोमबार बुटवल क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो । पीडितहरूको उजुरी र विभागको निर्देशनअनुसार बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
