२२ साउन,वीरगञ्ज । पर्सा प्रहरीले हवाई इन्धन चोरी गरी अवैध रूपमा बिक्री–वितरण गरिरहेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको ना ७ ख १५३९ नम्बरको २० हजार लिटर क्षमताको ट्यांकर समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतको इन्डियन आयल कर्पोरेसनको बरौनी टर्मिनलबाट नेपाल आयल निगमको हवाई इन्धन डिपो, सिनामंगल (काठमाडौं) का लागि ल्याइँदै गरेको इन्धन वीरगञ्जमा चोरी भइरहेको सूचनाका आधारमा साउन २१ गते साँझ ५:१० बजे प्रहरी टोलीले अनुगमन गरेको थियो।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकस्थित सौदागर आयल सेन्टरमा ट्यांकरको सिल फलामको पाइपको हुक प्रयोग गरी उचालेर अनधिकृत रूपमा हवाई इन्धन ग्यालेनमा निकाल्दै गरेको अवस्थामा सात जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा आयल सेन्टरका सञ्चालक वीरगञ्ज–३ मालपोत चोक निवासी ५५ वर्षीय सुनैन मियाँ रहेका छन्। यस्तै, कर्मचारीहरू वीरगञ्ज–१५ लक्ष्मणवा निवासी २३ वर्षीय असलम हवारी, वीरगञ्ज–११ श्रीपुर निवासी २१ वर्षीय रफिक मियाँ, मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ निवासी २० वर्षीय सन्देश राना मगर, हेटौंडा–१० निवासी ४६ वर्षीय केशर राम सुनार, हेटौंडा–१४ निवासी ५० वर्षीय मन्द सिंह लामा र हेटौंडा–१४ निवासी २७ वर्षीय उमेश राना मगर रहेका छन्।
प्रहरीले ट्याङ्करसहित पक्राउ परेका सातै जनाविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ। घटनामा हवाई इन्धन चोरी तथा अनाधिकृत बिक्री वितरणमा अन्य व्यक्तिको समेत संलग्नता रहेको विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

