काठमाडौं । बालबालिकालाई सामाजिक सञ्जालका जोखिमबारे पर्याप्त चेतावनी दिन र सुरक्षात्मक कदम चाल्न असफल भएको ठहर गर्दै अमेरिकाको न्यू मेक्सिको राज्यको एक अदालतले सामाजिक सञ्जाल जायन्ट ‘मेटा’लाई थप ५६७ मिलियन अमेरिकी डलर जरिवाना तिराउन आदेश दिएको छ । बाल सुरक्षासँग सम्बन्धित कानुनी लडाइँमा मेटाविरुद्ध भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो ऐतिहासिक फैसला हो ।
न्यायाधीश ब्रायन बिड्सचाइडले आफ्नो फैसलामा मेटाका प्लेटफर्महरूले बालबालिकालाई हानिकारक सामग्री, यौन शोषण र सम्भावित यौन अपराधीहरूको जोखिममा धकेल्दै “सार्वजनिक उपद्रव” (पब्लिक न्युसेन्स) को स्थिति सिर्जना गरेको उल्लेख गरेका छन्। अदालतको आदेश अनुसार जरिवाना बापत प्राप्त रकम भविष्यमा बालबालिकामाथि हुने यस्ता प्राविधिक क्षति न्यूनीकरण र सुरक्षा प्रवर्द्धनका लागि स्थापना गरिने विशेष कोषमा जम्मा गरिनेछ ।
यसअघि पनि यही मुद्दाको प्रारम्भिक सुनुवाइमा अदालतले मेटालाई ३७५ मिलियन डलर जरिवाना तिराउने फैसला गरिसकेको थियो । नयाँ फैसला थपिएसँगै मेटाले न्यू मेक्सिको राज्यलाई कुल ९४२ मिलियन अमेरिकी डलरभन्दा बढी (करिब १ खर्ब २५ अर्ब नेपाली रुपैयाँ) बुझाउनुपर्ने भएको छ ।
न्यू मेक्सिको राज्यका सरकारी अधिकारीहरूले सन् २०२३ मा मेटाविरुद्ध यो मुद्दा दर्ता गराएका थिए। मेटा मातहतका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्स जस्ता लोकप्रिय प्लेटफर्महरूले आफ्ना अल्गोरिदममार्फत बालबालिकालाई बाल यौन शोषणका सामग्री र यौन अपराधीहरूसम्म सहजै पुर्याउन सहयोग पुर्याएको गम्भीर आरोप लगाइएको थियो ।
अदालतले मेटाको कन्टेन्ट सिफारिस प्रणाली (रेकमन्डेसन सिस्टम) ले बाल प्रयोगकर्ताहरूलाई जानीजानी वा अनजानमा हानिकारक सामग्रीतर्फ निर्देशित गरेको ठहर गरेको छ। यता, मेटाले भने यसअघि तोकिएको ३७५ मिलियन डलरको जरिवानाविरुद्ध माथिल्लो अदालतमा अपिल गर्ने प्रतिक्रिया दिइसकेको छ ।
