काठमाडौं । नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधि तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाको मौसमी चेतावनीपछि बोर्डले विशेषगरी पर्सि शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशलगायतका क्षेत्रमा पदयात्रा र हिमाल आरोहणसहितका गतिविधि स्थगित गर्न आग्रह गरेको हो ।
नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले अहिले पर्यटकीय मौसम भएकाले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रम भइरहेका तर मौसमी सूचनाअनुसार सावधानी अपनाउन आवश्यक रहेको बताउनुभएको छ ।
ठूलो वर्षा र हिमपातसँगै बाढीपहिरो तथा उच्च हिमाली क्षेत्रमा जोखिम रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक सूचना निरन्तर पछ्याउन आग्रह गरेको छ । जोखिमयुक्त मौसमलाई ख्याल गरी सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि गर्नुपर्ने उहाँको भनाइ छ ।
