काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली र मनसुनी वायुको संयुक्त प्रभाव नेपालमा भित्रिएसँगै मौसममा अचानक फेरबदल आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबारदेखि वाग्मती प्रदेशसहित देशका पूर्वी भूभागहरूमा यसको असर स्पष्ट रूपमा देखिन थालेको छ भने वाग्मतीमा दिनभरि नै वर्षाको सम्भावना रहेको छ ।
यद्यपि पानी लगातार नभई रोकिँदै पर्ने र काठमाडौंमा दिनभरि घाम लाग्ने सम्भावना न्यून रहेको मौसमविद्हरूले बताएका छन् । जमिनको सतहमा प्रवेश गर्न लागेको यस गहिरो न्यूनचापीय प्रणालीको प्रभाव आगामी दिनमा अझ बढ्दै जाने देखिएको छ, जसका कारण भोलि र पर्सी वर्षाको गतिविधि थप तीव्र हुनेछ ।
मौसममा आएको यस अचानकको फेरबदल र हिमपातको उच्च सम्भावनालाई मध्यनजर गर्दै महाशाखाले पर्वतारोहण क्षेत्रका लागि समेत ‘रेड अलर्ट जारी गरिसकेको छ ।
