काठमाडौं । बाढीपहिरोबाट प्रभावित नेपालको पुनरुत्थानका लागि अमेरिकाले थप ३१ मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ ।अमेरिकी विदेश मन्त्रालयका राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटका क्रममा उक्त सहयोगको घोषणा गरेकी हुन् ।
घोषित सहयोगमध्ये १० मिलियन डलर बाढीबाट क्षतिग्रस्त सडक तथा यातायात पूर्वाधार पुनर्निर्माणका लागि स्थायी पुल निर्माणमा खर्च गरिने जनाइएको छ ।
यस्तै, प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ, आश्रय, जीविकोपार्जन तथा जाडोयाम लक्षित राहत कार्यक्रमका लागि थप ८ मिलियन डलर विनियोजन गरिनेछ ।
भविष्यमा विपद् उद्धार तथा पुनरुत्थान कार्यलाई प्रभावकारी बनाउन अमेरिकी प्रविधियुक्त ड्रोन खरिदका लागि १३ मिलियन डलर छुट्याइने योजना पनि सार्वजनिक गरिएको छ ।
यस नयाँ घोषणासँगै नेपालको बाढी प्रतिकार्य र पुनरुत्थानका लागि अमेरिकाले घोषणा गरेको कुल सहयोग ३६ मिलियन डलरभन्दा बढी पुगेको छ ।
