काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत साउन २ र ३ गते सञ्चालन गरिएको उक्त परीक्षाको नतिजा बोर्डको बैठकपछि बिहीबार राति बोर्डले औपचारिक रूपमा सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजा अनुसार परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ८१.१९ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त (उत्तीर्ण) गरेका छन् । बोर्डका अनुसार परीक्षामा कुल ७१ हजार ३१० जना विद्यार्थी सहभागी भएकामा ५८ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरी माथिल्लो तह अध्ययनका लागि योग्य भएका छन् ।
परीक्षा अवधिमा अमर्यादित गतिविधि गरेको ठहर गर्दै बोर्डले तीन जना परीक्षार्थीको भने परीक्षाफल पूर्ण रूपमा रद्द गरिएको जनाएको छ ।
परीक्षार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्ड वा नेपाल टेलिकमको वेबसाइट, एसएमएस सर्भिस (SMS Service) तथा आईभीआर(IVR) ) प्रणालीमार्फत सजिलै हेर्न सक्नेछन् । नतिजा सार्वजनिक भएसँगै ग्रेड वृद्धि भएका विद्यार्थीहरूका लागि स्नातक (बैचलर्स) तहमा भर्ना हुने बाटो खुलेको छ ।
