वीरगञ्ज । देशभर मनसुनी वायुको प्रभाव पुनः सक्रिय भएसँगै विशेष गरी तराईका विभिन्न भू-भागमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण तराई क्षेत्रमा मौसम बदली भई वर्षा भइरहेको हो ।
तराई क्षेत्रमा भइरहेको यो निरन्तर वर्षाका कारण साना-ठूला नदीनालामा जलसतह बढ्ने र होचा भू-भागमा डुबानको समस्या सिर्जना हुन सक्ने जोखिम बढेको छ।
महाशाखाका अनुसार आज मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले तराई क्षेत्रमा बाढी र डुबानको जोखिम उच्च बनेको छ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले तराई(मधेशसहित देशका अधिकांश भागमा मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ भने रातिबाट तराई क्षेत्रमा वर्षाको प्रभाव अझ तीव्र हुनेछ ।
आज राति मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका अधिकांश भू(भागमा मध्यम वर्षाको सम्भावना छ । विशेष गरी मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा भने मुसलधारे (अति भारी) वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन् । पहाडी भेगमा हुने भारी वर्षाको असरसमेत तराईका नदीनालाहरूमा पर्ने भएकाले तटीय क्षेत्र झनै जोखिममा परेको छ ।
तराई बाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा पनि मध्यमदेखि भारी वर्षा र हिमपातको सम्भावना छ ।
वर्षाका कारण तराईका नदीहरूमा जलसतह बढ्ने, होचा भू-भाग डुबानमा पर्ने तथा गेग्रान बहाव, बाढी र भू(क्षयको जोखिम रहेको भन्दै महाशाखाले तराईवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिकूल मौसमका कारण तराई-मधेशको दैनिक जनजीवन, कृषि क्षेत्र, सडक तथा हवाई यातायात, पर्यटन र स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भएकाले जल तथा मौसम विज्ञान विभागका अद्यावधिक सूचनाहरूप्रति सजग रहन सर्वसाधारण र सरोकारवाला निकायलाई महाशाखाले अनुरोध गरेको छ ।
