सिरहा । सुनसरी घटनाको विरोध प्रदर्शनका क्रममा सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवका परिवार र नेपाल सरकारबिच आठबुँदे सहमति भएको छ । औरही गाउँपालिका–२, तुलसियाही निवासी मृतकका परिवार र गृहमन्त्री सुधन गुरुङबिच भएको वार्तामा उक्त सहमति जुटेको हो ।
पीडित परिवारले अघि सारेका पाँचबुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा थप गरी आठबुँदे सहमति गरिएको गृहमन्त्री गुरुङले सञ्चारकर्मीहरूलाई जानकारी दिए ।
सहमति अनुसार घटनाको निष्पक्ष सत्यतथ्य छानबिन गरिने र मृतक गणेश यादवलाई राज्यका तर्फबाट ‘सहिद’ घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ । साथै, पीडित परिवारलाई सरकारका तर्फबाट १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने भएको छ ।
यसै गरी, मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गरिने, मृतकको सम्झनामा पार्क निर्माण गरिने र उनका आमाबुबालाई आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने सहमतिमा उल्लेख छ ।
सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री गुरुङले शवको निष्पक्ष अनुसन्धान र पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको स्पष्ट पारे । अनुसन्धान प्रक्रिया पूरा गरी शनिबार (आज) हेलिकोप्टरमार्फत शव सिरहा ल्याएर परिवारलाई जिम्मा लगाइने र आजै अन्तिम संस्कार गरिनेछ। दाहसंस्कारका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने सहमति भएको छ ।
घटनाको निष्पक्षताबारे उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले सुनसरी र सिरहाका दुवै घटनाको अनुसन्धानका लागि अनुभवी अनुसन्धानकर्ता तथा विज्ञहरू सम्मिलित छुट्टाछुट्टै छानबिन समिति गठन गरिएको बताए। समितिले निष्पक्ष प्रतिवेदन तयार पारी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउने प्रतिबद्धता उनले जनाए ।
यद्यपि, भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनका क्रममा मृत्यु तथा घाइते भएकाहरूले अझै न्याय नपाएको विषयमा सञ्चारकर्मीले प्रश्न सोधेपछि गृहमन्त्री गुरुङ कुनै प्रतिक्रिया नदिई कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।
