काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाहरूको संयुक्त आयोजनामा हरेक वर्ष अगस्टको पहिलो साता मनाइने ‘विश्व स्तनपान सप्ताह’ आजदेखि विश्वभर सुरु भएको छ ।
यस वर्ष ‘जीवनको दिगो सुरुआतका लागि स्तनपानस् प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ’ भन्ने नाराका साथ यो सप्ताह मनाइँदै छ । अभियानले शिशु तथा आमाको स्वास्थ्य संरक्षणका लागि स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल र सरकारी नीतिमार्फत स्तनपानलाई सहज बनाउन निरन्तर सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिएको छ ।
डब्ल्युएचओका अनुसार शिशुलाई आवश्यक पोषण प्रदान गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, गम्भीर सङ्क्रमणबाट जोगाउने र मस्तिष्कको विकासमा टेवा पुर्याउने सबैभन्दा सरल र प्रभावकारी उपाय स्तनपान नै हो ।
यसले शिशुका साथै आमाको स्वास्थ्यमा पनि दीर्घकालीन सकारात्मक प्रभाव पार्छस जस अनुसार नियमित स्तनपान गराउनाले आमाहरूमा स्तन तथा डिम्बाशयको क्यान्सर र ‘टाइप(२’ मधुमेह जस्ता नसर्ने रोगको जोखिम उल्लेख्य रूपमा घट्छ ।
विश्वव्यापी रूपमा स्तनपानको दरमा सुधार आइरहेको तथ्याङ्कले देखाउँछ । सन् २०१२ मा ३७ प्रतिशत रहेको ६ महिनासम्मको पूर्ण स्तनपानको दर हाल ४७ प्रतिशतभन्दा माथि पुगेको छ भने दुई वर्षसम्म स्तनपान गराउने बालबालिकाको अनुपात पछिल्लो पाँच वर्षमा ३८ प्रतिशतबाट बढेर ५० प्रतिशत पुगेको छ । यद्यपि, न्यून आय भएका, द्वन्द्व प्रभावित र मानवीय सङ्कट झेलिरहेका क्षेत्रहरूमा यसको प्रगति अझै असमान छ ।
स्तनपान प्रवर्द्धनका लागि दक्ष परामर्श सेवा, समुदायमा आधारित कार्यक्रम, सशुल्क प्रसूति बिदा, स्तनपानमैत्री कार्यस्थल र आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने व्यावसायिक दूधको अनियन्त्रित प्रवर्द्धनमाथि कडा नियन्त्रण आवश्यक रहेको डब्ल्युएचओ र युनिसेफले जनाएका छन् ।
यी उपायहरू पूर्ण रूपमा कार्यान्वयन गर्न सके वार्षिक रूपमा करिब चार लाख बालबालिका र एक लाख ४० हजार आमाको ज्यान जोगाउन सकिने अनुमान छ। साथै, स्तनपान प्रवर्द्धनमा गरिएको प्रत्येक १ अमेरिकी डलर लगानीले स्वास्थ्य उपचार खर्चमा बचत र बौद्धिक विकासमार्फत ५९ अमेरिकी डलर बराबरको आर्थिक प्रतिफल दिने अध्ययनले देखाएको छ ।
सन् २०१८ को विश्व स्वास्थ्यसभाले स्तनपानलाई स्वास्थ्य प्रवर्द्धनको मुख्य रणनीतिका रूपमा अनुमोदन गरेको स्मरण गराउँदै डब्ल्युएचओले बालबालिका र आमाको अधिकार सुनिश्चित गर्न सरकार, रोजगारदाता, समुदाय र परिवार सबैलाई एकजुट हुन आग्रह गरेको छ ।
