वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–३ जमुनिया स्थित सीमावर्ती क्षेत्रमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको ६ सय वटा प्रतिबन्धित हाँस र कुखुराका चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) पिडारीगुठीबाट खटिएको टोलीले गस्तीका क्रममा शंकास्पद गतिविधि देखेपछि निगरानी बढाएको थियो ।
प्रहरी टोलीलाई देख्नासाथ दुई जना व्यक्तिले साइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेका चल्लाहरू छाडेर साइकलसहित भारततर्फ फरार भएका थिए । बरामद गरिएका हाँस र कुखुराका चल्लाको अनुमानित मूल्य १ लाख ८० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
पशुजन्य रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बरामद चल्लाहरू पशु चिकित्सक, स्थानीय भद्रभलाद्मी तथा नेपाल प्रहरी को रोहवरमा बीओपीको परिधि नजिक रहेको खाली जग्गामा खाडल खनेर नष्ट गरिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
