वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिर नजिक ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार हेटौंडा–पथलैया सडकखण्डमा वीरगञ्जबाट धादिङतर्फ जाँदै गरेको ना।६ ख १४५८ नम्बरको कोइला लोड ट्रक र हेटौंडाबाट रौतहटतर्फ आउँदै गरेको प्र.२–०३–००९ प ७९११ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सर्लाहीको बसबरिया गाउँपालिका–३ निवासी २१ वर्षीय निराजन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल हेटौंडा पुर्याइएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीका २१ वर्षीय नन्दकिश्वर दास घाइते भएका छन्। उनको दुवै हात, दुवै खुट्टा तथा मुखमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दासको जिल्ला अस्पताल हेटौंडामा उपचार भइरहेको छ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाका कारण सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ।
ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ कमानेका ३० वर्षीय दीपक घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको टोलीसमेत खटिएको थियो।
