सिरहा । सिरहाको औरही गाउँपालिका-५ स्थित गागन खोलाको निर्माणाधीन पुल भासिँदा हुलाकी राजमार्ग अवरुद्ध भएको छ । सडक भासिएसँगै दुर्घटनाको जोखिम बढेपछि अहिले सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ ।
स्थानीयका अनुसार पुरानो पुलको छेउमा नयाँ पुल निर्माणका क्रममा जथाभावी माटो उत्खनन गरेका कारण सडक भासिएको हो । वर्षाले तीव्र कटान गर्दा सडकको भित्री भाग पूर्ण रूपमा खोक्रो बनेर सडक भासिएको छ ।
बाहिरबाट सडक सामान्य देखिए पनि भित्रको माटो बगिसकेकाले जुनसुकै बेला थप भासिने र ठूलो दुर्घटना हुन सक्ने जोखिम रहेको स्थानीय बताउँछन् । स्थानीय दीपेन्द्र कुमार यादवले निर्माण कम्पनी र सम्बन्धित निकायको लापरबाहीका कारण यस्तो अवस्था आएको आरोप लगाए ।
