काठमाडौं । राजधानीको मुख्य व्यापारिक केन्द्र न्यूरोड क्षेत्रमा अवैध रूपमा भण्डारण गरी बिक्री वितरणका लागि राखिएको ठूलो परिमाणको इलेक्ट्रिक चुरोट (भेप) प्रहरीले बरामद गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको बिशेष टोलीले न्यूरोड, खिचापोखरीस्थित आरबी कम्प्लेक्समा छापा मारी बजार मूल्य करिब ६ करोड रुपैयाँ बराबरको अवैध भेप बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अवैध सामग्री भण्डारण गरेको अभियोगमा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ का ३२ वर्षीय नवीन खड्कालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका खड्का ती गोदाम तथा पसलका मुख्य सञ्चालक हुन् ।
अपराध अनुसन्धान कार्यालयका अनुसार प्रहरीले काठमाडौं महानगरपालिका–२२ खिचापोखरीमा रहेको आरबी कम्प्लेक्सलाई केन्द्रित गरी विशेष अपरेसन चलाएको थियो । सो क्रममा कम्प्लेक्सको अण्डरग्राउण्डमा सञ्चालित ‘स्माइल योर च्वाइस’ नामक पसल र सोही कम्प्लेक्सको अर्को भवनमा रहेको ‘भेपमान्डु ट्रेडर्स प्रालि’ को मुख्य गोदाममा एकैसाथ खानतलासी गरिएको थियो ।
खानतलासीका क्रममा प्रहरीले विभिन्न विदेशी कम्पनीका कुल २८ हजार ५०० वटा इलेक्ट्रिक चुरोट ९भेप० बरामद गरेको छ। बरामद गरिएका ती सामग्रीहरूको कुनै पनि वैध बिलबिजक र भन्सार प्रज्ञापनपत्र फेला नपरेकाले ती सामग्रीहरू पूर्ण रूपमा अवैध र राजस्व छली गरी भित्र्याइएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
पछिल्लो समय नेपालका सहरी क्षेत्रमा युवा पुस्ता माझ ‘भेप’ को फेसन र कुलत बढ्दै गएका बेला तस्करहरूले यसलाई अवैध आम्दानीको मुख्य माध्यम बनाउन थालेका छन् । बिनाकुनै कानुनी प्रक्रिया र भन्सार महसुल नतिरी चिनियाँ नाकाहरूबाट लुकाइछिपाई राजधानी भित्र्याएर न्यूरोडका गोदामहरूबाट देशैभर यसको अवैध नेटवर्क चलाउने गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।
अपराध अनुसन्धान कार्यालयले बरामद गरिएका सामग्रीसहित पक्राउ परेका सञ्चालक खड्कालाई आवश्यक कानुनी कारबाही, थप अनुसन्धान तथा जरिवानाका लागि भन्सार कार्यालय वा राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी गरेको छ ।



