रौतहट । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलको सिटभित्र लुकाएर अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा जिल्लाको बौधिमाई नगरपालिका–७ स्थित बङ्कुल–नरकटिया सडकखण्डबाट प्रहरीले भारतीय नागरिक टुना दासलाई पक्राउ गरेको हो ।
स्थानीय बङ्कुल बजारस्थित प्रहरी चौकीका सहायक निरीक्षक रमेश यादवको नेतृत्वमा खटिएको सुरक्षा जाँच टोलीले सीमा क्षेत्र नजिकै रहेको भारतीय बजार घोडासानबाट नेपालतर्फ आउँदै गरेका दासको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिएका छन् ।
प्रहरीले स्रोत नखुलेको नगद, रकम बोक्न प्रयोग गरिएको मोटरसाइकल र पक्राउ परेका भारतीय नागरिक दासलाई नियन्त्रणमा लिई यस आर्थिक अपराध तथा हुन्डी कारोबारको आशङ्कामा थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।
