काठमाडौं । यूएईको अबुधाबीस्थित बराकाह पावर प्लान्टमा ड्रोन आक्रमण भएको छ । आक्रमणबाट प्लान्टमा आगो लागेको समाचार एजेन्सीहरुले जनाएका छन् । बराकाह पावर प्लान्ट यूएईको सबैभन्दा ठूलो विद्युत् स्रोत हो । यहाँ उत्पादन हुने प्रत्येक मेगावाट बिजुली कार्बनमुक्त हुने बताइन्छ ।
यूएईको विदेश मन्त्रालयका अनुसार दफरा क्षेत्रमा रहेको बराकाह परमाणु ऊर्जा केन्द्रमा आइतबार पश्चिमी सीमाबाट ड्रोन आक्रमण भएको थियो । यूएईले हालसम्म यो आक्रमण कसले गरेको हो भन्ने खुलाएको छैन ।
तर मन्त्रालयले देशको सुरक्षामाथि प्रत्यक्ष खतरा र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन भन्दै आक्रमणको कडा निन्दा गरेको छ । साथै शत्रु पक्षलाई सैन्य वा कूटनीतिक जवाफ दिने अधिकार सुरक्षित रहेको जनाएको छ ।
यसअघि यूएईको सरकारी मिडिया हाउसले ड्रोन आक्रमणबाट पावर प्लान्टमा रहेको एक जेनेरेटरमा आगो लागेको र त्यसलाई नियन्त्रणमा लिइएको जानकारी दिएको थियो ।
यस घटनामा कुनै पनि व्यक्ति घाइते नभएको र विकिरण सुरक्षा स्तरमा पनि कुनै असर नपरेको जनाइएको छ । साबधानीका अन्य सबै कदमहरू पनि अपनाइएको यूएईका अधिकारीहरुले बताएका छन् ।
हालै इरान र यूएईबीच तनाव बढेका बेला यूएईको पावर प्लान्टमा आक्रमण भएको हो । यूएईले शुक्रबार इरानले अमेरिका र इजरायलसँगको युद्धका क्रममा उसका नागरिक संरचनामा ३ हजार भन्दा बढी आक्रमण गरेको जनाएको थियो ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले यूएईमाथि आरोप लगाउँदै उसले इरानमाथि अमेरिका र इजरायलका आक्रमणमा सक्रिय भूमिका खेलेको बताएका छन् । उनको भनाइ अनुसार इरानले यूएईमा केवल सैन्य अड्डा तथा अमेरिका र इजरायलसँग सम्बन्धित संस्थाहरूलाई मात्र निशाना बनाएको थियो ।



