४ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले ‘जेनजी आन्दोलन’ का क्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगजनी भई नष्ट भएका सरकारी भवनहरूको पुनर्निर्माणको जिम्मा आफ्नो पार्टीलाई दिन सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले राज्यको ठुलो धनराशी खर्च नगरी केवल जनताको श्रमदानबाटै ती ऐतिहासिक र महत्त्वपूर्ण संरचनाहरू पुरानै स्वरूपमा ठड्याइदिने दाबी गरे । आफ्नो श्रम अभियानमार्फत चर्चामा रहेका साम्पाङको यो नयाँ र महत्त्वाकाङ्क्षी प्रस्तावले संसद्मा सबैको ध्यान खिचेको छ ।
सदनमा जारी आगामी आर्थिक वर्षको प्रि(बजेट (बजेटका सिद्धान्त र प्राथमिकत) माथिको छलफलमा भाग लिँदै सांसद साम्पाङले देशको अर्थतन्त्र दबाबमा रहेका बेला भौतिक पूर्वाधार निर्माणमा श्रम संस्कृतिको प्रयोग अपरिहार्य भएको तर्क गरे ।
‘सिंहदरबारभित्र जलेका भवनहरू त्यसै अलपत्र छाड्नुहुँदैन, यदि सरकारले यसको पुनर्निर्माणको जिम्मेवारी हामीलाई सुम्पिन्छ भने हामी देशैभरिका नागरिकलाई गोलबद्ध गरेर श्रमदानकै बलमा ती भवनहरू निर्माण गरिदिनेछौँ,’ साम्पाङले संसद्मा प्रस्ताव राखे। उनले श्रमको सम्मान र जनसहभागिता विना मुलुकको समृद्धि असम्भव रहेको समेत जिकिर गरे।
छलफलकै क्रममा उनले आगामी नयाँ बजेट जनमुखी र सन्तुलित हुनुपर्नेमा जोड दिँदै आफ्नो निर्वाचन क्षेत्रका साथै देशका अन्य पिछडिएका क्षेत्रहरूको भौतिक विकासका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए । विगतमा जस्तो पहुँच र शक्तिका भरमा बजेट निश्चित क्षेत्रमा मात्र केन्द्रित गर्ने परिपाटीको अन्त्य हुनुपर्ने भन्दै उनले उत्पादनमुखी र पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राख्न माग गरे ।
संसद्मा बजेटमाथिको सैद्धान्तिक बहस चलिरहँदा साम्पाङले राखेको सिंहदरबार पुनर्निर्माणको ुश्रम मोडलु को विषय अहिले राजनीतिक वृत्तमा रोचक बहसको विषय बनेको छ ।



