वीरगञ्ज, ८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पर्सा क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधिका आकांक्षीहरूबीच प्रतिस्पर्धा बढ्ने संकेत देखिएको छ। यसैक्रममा वीरगञ्ज महानगरपालिका–१४ का युवा नेता बिकेश कुमार पटेलले महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएका पटेलले पार्टीको संगठन विस्तारसँगै युवालाई कांग्रेसको मूलधारमा थप सक्रिय बनाउने एजेन्डालाई प्राथमिकतामा राख्दै उम्मेदवारी अघि सारेको बताउनुभएको छ।
पार्टीको नेतृत्व तहमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता आवश्यक रहेको उल्लेख गर्दै पटेलले संगठनलाई समयअनुकूल र गतिशील बनाउन नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभएको छ।
कांग्रेसका मूल आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध रहेको बताउँदै पटेलले स्थानीय तहका कार्यकर्ता तथा युवाका समस्या र अपेक्षालाई पार्टीको नीति निर्माण तहसम्म पुर्याउने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ।
महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टी संगठनलाई थप व्यवस्थित र बलियो बनाउने, युवाको सहभागिता विस्तार गर्ने तथा कार्यकर्ताको आवाजलाई नेतृत्वसमक्ष प्रभावकारी रूपमा पुर्याउन पहल गर्ने उहाँको भनाइ छ।
