वीरगञ्ज । हनुमान जन्मोत्सव को शुभ अवसरमा आज वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा निकालिने विशाल शोभा यात्राका लागि स्थानीय युवाहरू उत्साहपूर्वक भव्य तयारीमा जुटेका छन्।
शोभा यात्रालाई आकर्षक र व्यवस्थित बनाउन युवाहरूले विभिन्न टोली गठन गरी झाँकी निर्माण, बाजागाजा, ध्वजापताका सजावट तथा सुरक्षा व्यवस्थापनमा सक्रिय रूपमा खटिएका छन्। भगवान हनुमान को प्रतिमासहित विभिन्न धार्मिक झाँकी प्रस्तुत गरिनेछ भने भजन–कीर्तन, धुन तथा सांस्कृतिक प्रस्तुतीले वातावरणलाई भक्तिमय बनाउने तयारी गरिएको आयोजकले जनाएको छ।
यात्रा रामगढवाबाट सुरु भई आसपासका मुख्य सडकहरू परिक्रमा गर्दै पुनः सोही स्थानमा समापन हुने कार्यक्रम तय गरिएको छ। शोभा यात्रामा हजारौँ श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन विशेष ध्यान दिइएको छ। ट्राफिक व्यवस्थापनलाई सहज बनाउन आवश्यक स्थानहरूमा स्वयंसेवक परिचालन गरिने पनि जनाइएको छ।
आयोजकका अनुसार यस प्रकारको धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समुदायबीच आपसी सद्भाव, एकता र धार्मिक आस्थालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।



