काठमाडौं । मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेका बेला, कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ मा आज शुक्रबार बिहान भीषण ड्रोन आक्रमण भएको छ।
कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार, इरानी ड्रोनहरूको शृङ्खलाबद्ध प्रहारका कारण रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ। यो दुई दिनभित्र कुवेती तेल पूर्वाधारमा भएको दोस्रो ठूलो प्रहार हो।
आक्रमण लगत्तै सुरक्षाका कारण रिफाइनरीका केही महत्त्वपूर्ण प्लान्टहरू बन्द गरिएको छ। ८८कुवेती समाचार संस्था ‘कुना’८८का अनुसार हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन र अग्निनियन्त्रकहरूले आगोलाई नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्।
विशेषज्ञहरूले यो आक्रमणलाई इजरायलले इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा गरेको बमबारीको प्रतिकारको रूपमा हेरि रहेका छन्। आजै इरानले बहराइन, संयुक्त अरब इमिरेट्स र साउदी अरबमा पनि मिसाइल र ड्रोन प्रहार गरेको छ, जसले विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११६ डलरभन्दा माथि पुर्याएको छ।



