वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले स्रोत खुल्न नसकेको २० लाख रुपैयाँ अबैध रकमसहित विनय शंकर साह तुरहालाई पक्राउ गरेको छ। पक्राउ पर्ने साह वीरगन्ज महानगरपालिका वडा नम्बर १७ का ५० वर्षीय स्थानीय हुन्।
शुक्रबार बिहान ११ बजेको समयमा वीरगन्ज महानगरपालिका १६ स्थित भन्सारको मेनगेटमा बिआर ०५ बिके ८६०३ नम्बरको मोटरसाइकल चेकको क्रममा उनी पक्राउ परेका थिए।
सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार तुरहाले मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा प्याक गरी लुकाई छुपाई रकम ल्याउँदै गरेका थिए।
उनका साथबाट नेपाली रुपैयाँ एक हजार दरको १,३०२ थान, पाँच सय दरको १,४०० थान, ५० रुपैयाँ दरको १ थान र भारतीय रुपैयाँ एक सय दरको ६ थान बरामद गरिएको छ।
साथै, सामसुङ ग्यालेक्सी ए१५ मोडलको मोबाइल १ थान र वीरगन्ज भन्सार एजेन्ट संघ पर्सा लेखिएको तुरहाको परिचय पनि बरामद गरिएको छ। अबैध रकमसहित पक्राउ परेका तुरहालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।



