वीरगञ्ज । सशस्त्र प्रहरी बलको नियमित गस्ती टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका तथा लुकाएर राखिएका रु १७ लाख ५६ हजार ९९० मूल्य बराबरका अवैध सामान बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट रु ६ लाख ९८ हजार ४५० बराबरका विभिन्न मोबाइलका पार्टपुर्जाहरू बरामद गरिएका हुन् । भारतबाट भन्सार छलेर अवैध रूपमा ल्याउँदै गरेका दुई व्यक्ति प्रहरी टोलीलाई देखेपछि सामान छाडेर फरार भएका थिए ।
यसैगरी, पकाहामैनपुर गाउँपालिका–५ सबैठवास्थित एक गोठमा लुकाएर राखिएको अवस्थामा रु १० लाख ५८ हजार ५४० मूल्य बराबरका लत्ताकपडाहरू सशस्त्र प्रहरीले बरामद गरेको छ ।
बरामद गरिएका सबै सामानहरूलाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइसकिएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए ।
