चितवन । चैत २ गते परेको हुरीले जिल्लामा केराखेतीमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक तथ्यांक अनुसार करिब चार करोड रुपैयाँभन्दा बढीको केरामा क्षति भएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई चितवनका प्रमुख महेश रेग्मीका अनुसार बुधबार र बिहीबार दुई दिनसम्म केराखेती प्रभावित क्षेत्रहरूको अनुगमन गरिएको थियो । सो क्रममा २० वटा फार्ममा निरीक्षण गरिएको उनले बताए।
विशेष गरी भरतपुर महानगरपालिका–७ र २३, रत्ननगर नगरपालिका–५, १२, १४, खैरहनी नगरपालिका–१३, कालिका–२ देखि ५ वडा क्षेत्रमा बढी क्षति भएको छ। बगानमा क्षति दर एक प्रतिशतदेखि ८८ प्रतिशतसम्म देखिएको छ।
रेग्मीले भने, ‘एउटा फार्ममा ८८ प्रतिशत क्षति भएको पायौँ। सबैको अवस्था त्यस्तो छैन।’ मालभोग केरामा ७८ प्रतिशत, जीनाइन केरामा २२ प्रतिशत क्षति भएको र समग्रमा ४३.३५ प्रतिशत केरामा असर परेको बताइएको छ। जिल्लामा १,८०० हेक्टरमा केराखेती गरिएको छ।
केरा सुपरजोन चितवनका संयोजक विष्णुहरीका अनुसार, ‘केराखेतीको बिमा सुरु हुने समय ढिलो भएकाले किसान मर्कामा परेका छन्।’ किसानले क्षतिपूर्तिसमेत पाउन कठिन भएको कारण चिन्ता बढेको उनको भनाइ छ।
गत वर्षको क्षतिपूर्ति रकम अहिलेसम्म वितरण नहुँदा किसान थप निराश देखिन्छन्। अहिलेसम्म चार करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै किसानले बिमा कम्पनीमा निवेदन बुझाइसकेका छन्। थप निवेदन आउने क्रममा रहेको र कतिपय किसानले बिमा नगरेकोले यकिन तथ्यांक आउन समय लाग्ने बताएका छन्।
चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले भने, ‘जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती हुँदै आएको छ। हुरीका कारण कति क्षेत्रफलमा क्षति भयो भन्ने तथ्यांक सङ्घले संकलन गरिरहेको छ।’
स्थानिय कृषक बाबुराम भट्टले भने, ‘हुरीका कारण मेरो लगाएको केरा ढलेको छ। अहिले बगान सरसफाइका लागि मजदुर राखेर काम गर्नुपर्ने अवस्थामा पुगेको छ।’
कार्यालयको तथ्यांक अनुसार, प्रतिहेक्टर मालभोग केराबाट २४ टन र जीनाइन ५५ टन उत्पादन हुँदै आएको थियो। जिल्लामा ७०० किसान व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन्।



