वीरगञ्ज । पर्सा जिल्लाको पकहा मैनपुर गाउँपालिका–१ धोरेमा गए राति आगलागी भएको छ । मिति २०८२ असोज २६ गते राति करिब २:०० बजेको समयमा धुपनाथ राउतको गोठघरमा बिद्युतको तार सर्ट भई आगलागी भएको जनाइएको छ ।
आगो लागेको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी धोरेबाट प्रहरी सहायक निरीक्षक भन्टु राय यादवको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुगेको थियो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा करिब ३:०० बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरी चौकी धोरेले जनाएको छ ।
आगलागीबाट गोठघरभित्र रहेको भारतीय नं.पलेट BR 05AS 4879 नम्बरको TVS मोटरसाइकल, एक थान साइकल, तथा विद्युत् मिटर जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ । साथै गोठमा रहेका एक भैंसी र दुईवटा पाडीको शरीरमा करिब १० प्रतिशत पोलिएको घाइते अवस्था रहेको छ ।
उक्त आगलागीबाट करिब रु. १,८६,००० (एक लाख छयासी हजार रुपैयाँ) बराबरको धनमालको क्षति भएको अनुमान गरिएको छ । सो घटनामा मानवीय क्षति भने भएको छैन ।
स्थानीय प्रशासनले घटनास्थलको निरीक्षण गरी आगलागीका कारणबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
