रौतहट । रौतहटको देवाही–गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस प्रकरणमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार राति उनको घरबाट उनलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार प्रधानाध्यापक साहले विद्यालयमा शुक्रबार हुने माध्यमिक तह (द्वितीय) विज्ञान शिक्षक नियुक्ति परीक्षा पास गरिदिने शर्तमा एक शिक्षकसँग करिब साढे चार लाख रुपैयाँ घुस मागेका थिए । रकम लिँदै गर्दा उनका सहयोगी अरविन्द प्रकाश साह पनि अख्तियारको फन्दामा परेका छन् ।
सूचनाको आधारमा वीरगञ्जका एक शिक्षकले परीक्षा फारम भरेको व्यक्तिसँगै रकम मागिएको पत्ता लाग्दा अख्तियारको टोलीले वीरगञ्जस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयबाट अरविन्द प्रकाश साहलाई रंगेहात पक्राउ गरेको थियो । त्यसपछि टोली धरहरी पुगेर प्रधानाध्यापक साहलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि शुक्रबार राति नै काठमाडौं लगिएको अख्तियार स्रोतले जनाएको छ । रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले पनि अनुसन्धानका लागि प्रधानाध्यापक काठमाडौं लगिएको पुष्टि गरेका छन् । उनले भने, “शिक्षक नियुक्ति प्रक्रियामा घुस लिएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ, ठ्याक्कै विवरण अनुसन्धानपछि मात्र सार्वजनिक हुनेछ ।”
