वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले चोरीको मोटरसाइकल र स्कुटीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-४ विर्ताका २६ वर्षीय विजय गोसाई र वडा नम्बर २६ अठराहा सुगौलीका २५ वर्षीय सरफराज अन्सारी रहेका छन् ।
दुवै जनालाई वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वको टोलीले सोमबार बेलुकी चोरीको मोटरसाइकल र स्कुटीसहित पक्राउ गरेको हो । प्रहरी निरीक्षक बोगटीका अनुसार गत शुक्रबार वीरगञ्ज-१० आदर्शनगरस्थित पूजन होटल अगाडि पार्किङ गरी राखिएको बीआर ०५ ए एम ०७९२ नम्बरको मोटरसाइलक चोरी भएको थियो।
होटलकै रिसेप्सनमा कार्यरत कर्मचारीको उक्त मोटरसाइकल चोरी भएपछि खोजतलास गर्ने क्रममा प्रहरीले उक्त मोटरसाइलक चलाउँदै गरेको अवस्थामा गोसाईलाई सोमबार बेलुकी प्रहरीले नियन्त्रणमा लिएका थिए । पक्राउ परेका गोसाईले उक्त मोटरसाइकल अन्सारीले दिएको बयान दिएपछि सोमबार बेलुकी नै प्रहरीले अन्सारीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बोगटीले बताए।
अन्सारीको साथबाट पनि चोरीकै ना १६ प २५२६ नम्बरको स्कुटी बरामद भएको बोगटीले बताए । दुवैलाई चोरीको मोटरसाइकल र स्कुटीसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको बोगटीले बताए।
