ठोरी । पर्साको ठोरी गाउँपालिकामा ढेडु खोलाको खाल्डोमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ । आज बिहान नुहाउन गएका ठोरी–२, हनुमान नगरका मनोज कठायतका दुई छोराहरूको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा ७ वर्षीय अंश कठायत र ५ वर्षीय अयन कठायत रहेको ठोरी–२ का वडाध्यक्ष अमृत कृष्ण सापकोटाले जानकारी दिए । वडाध्यक्ष सापकोटाका अनुसार, दुवै जना बालकहरू आज बिहान करिब ९ बजे घरबाट १५० मिटर टाढा रहेको ढेडु खोलामा नुहाउन गएका थिए। लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजतलास गर्दा उनीहरू खोलाको खाल्डोमा डुबेको अवस्थामा फेला परेका थिए।
अहिले घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम भइरहेको छ। शवलाई पोस्टमार्टमका लागि वीरगञ्ज पठाउने तयारी भइरहेको वडाध्यक्ष सापकोटाले बताए । एकै परिवारका दुई बालकको निधनले ठोरी–२ मा शोक छाएको छ।
