वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कैदीको मृत्यु भएपछि मृतकका आफन्तहरूले अस्पताल प्रशासन को गम्भीर लापरवाहीको आरोप लगाउँदै अस्पताल अगाडि विरोध प्रदर्शन गरेका छन् । मृत्यु हुनेमा हत्याको अभियोग मा वीरगञ्ज कारागारमा रहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ खलवाटोला श्रीसिया निवासी २८ वर्षीय राहुल साह तुहारा रहेका छन् ।
नारायणी अस्पतालका सूचना अधिकारी डा। उदय नारायण सिंहका अनुसार, तुहारालाई मंगलबार बिहान ८:५० बजे अस्पताल भर्ना गरिएको थियो र उपचारको क्रममा बिहान १०:३० बजे उनको मृत्यु भएको हो । डा. सिंहले तुहारालाई अस्पताल ल्याउँदा उनको मुखबाट रगत र फिज आइरहेको तथा रक्तचाप (BP) शून्य रहेको जानकारी दिए ।
डा. सिंहका अनुसार, तुहारालाई तत्काल आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । अस्पतालमा तत्काल आईसीयू बेड खाली नभएपछि बाहिर अन्यत्र लैजान सुझाव दिइएको थियो र तुहाराको परिवारले एम्बुलेन्ससमेत बोलाएका थिए । तर, लगत्तै एउटा आईसीयू बेड खाली भएपछि उनलाई त्यही बेडमा राखेर उपचार सुरु गरियो। उपचार सुरु भएको करिब १५ मिनेटमै, अर्थात् १०:३० बजे, तुहाराको मृत्यु भएको सिंहले बताए ।
यता, मृतकका आफन्तहरूले भने अस्पतालको लापरवाही र सही समयमा उचित उपचार नपाएकै कारण राहुलको ज्यान गएको गम्भीर आरोप लगाएका छन् । यसैको विरोधमा उनीहरूले नारायणी अस्पतालअगाडि टायर बालेर प्रदर्शन गर्नुका साथै अस्पताल प्रशासनविरुद्ध नाराबाजीसमेत गरिरहेका छन् । घटनाले वीरगञ्जमा तनावको स्थिति सिर्जना गरेको छ ।
