पर्सा । वीरगन्ज महानगरपालिका– ११ लिंकरोडमा रहेको हाम्रो सहारा बचत तथा ऋण सहकारी संस्थाको कार्यालय बन्द भएपछि सञ्चालकलाई पक्राउको माग राख्दै बचतकर्ता जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका छन् ।
केही साता अघिबाट सोही सहकारी संस्थाको सञ्चालक सम्पर्कविहीन भएर कार्यालय बन्द गरेपछि बचतकर्ता गत शुक्रबार सञ्चालकलाई पक्राउको माग राख्दै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका हुन् ।
सहकारीमा जम्मा गरेको रकम लिन पुग्दा कार्यालय बन्द भएर सञ्चालक फरार भएपछि सञ्चालकलाई पक्राउ गर्न र बचत गरेको रकम फिर्ता गराउन जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको बचतकर्ता देवनारायण साहले बताए ।
वीरगन्ज महानगरपालिका– ३० लालपर्सानिवासी बचतकर्ता साहले गत ०७५ माघ २३ मा पाँच वर्ष पुगेको दिन पाउने गरी एक लाख रुपैयाँ फिक्स डिपोजिट गरेका थिए । सो रकम गत २४ माघमा लिने गरी सहकारी संस्थाको कार्यालयमा पुग्दा गेटमा तालाबन्दी भएको देखेपछि प्रहरीमा आएको बताए ।
विगत एक महिनादेखि फिक्स डिपोजिट गरेको रकम लिन एजेन्ट रामबालक महतोलाई सम्पर्क गर्दा उनी फोन सम्पर्कमा नआएको बताए । एजेन्ट महतो सम्पर्कविहीन भएपछि कार्यालयमा पुग्दा संस्थामा एकजना पनि नरहेको र कार्यालयको गेटमा ताला झुन्डिएको उनले बताए ।
बचतकर्ता साहले सहकारीका सञ्चालकलाई रकम ठगी गरेको भन्दै पक्राउ गरी कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताए । पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाले सहकारीका सञ्चालक सम्पर्कमा नरहेकाले पक्राउ गरी बचतकर्ताको रकम उपलब्ध गराउन निवेदन आएको बताए ।
उनले सहकारीका सञ्चालकलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको, तर अहिलेसम्म केही थाहा नभएको बताए । सो सहकारीबारे प्रहरीको उजुरी शाखाले हेरिरहेकाले थप कुरा बुझ्ने शाखामा सम्पर्क गर्न प्रहरी नायब उपरीक्षक थापाले बताए । यता सहकारीका सञ्चालक समितिका अध्यक्ष रामजी मुखियासँग सम्पर्क गर्न खोदा सम्पर्क भएन। साभारः नयाँ पत्रिका



