काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिँदैछन् । २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गत शुक्रबार नै नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए ।
बागमतीको एक सय १० सदस्यीय प्रदेश सभामा बहुमत कायम रहन जमकट्टेलले ५६ मत प्राप्त गर्नुपर्छ । यस प्रदेशको प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बागमती प्रदेशले भने बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलका विपक्षमा मतदान गर्न निर्देशन दिइसकेको छ ।



