वीरगञ्ज । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई बुधबार दिउँसो नगरपालिका कार्यालयमै नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार, नगरप्रमुख साहले एक उपभोक्ता समितिबाट पूर्ण भुक्तानी दिनु पर्ने कार्यको सन्दर्भमा एक लाख रुपैयाँ घुस मागिरहेका थिए । उनी दिउँसो करिब १ः४५ बजे उक्त रकम लिँदै गरेको अवस्थामा समातिएका हुन् ।
सूचना प्राप्त भएलगत्तै अख्तियारको टोलीले योजनाबद्ध रूपमा निगरानी बढाएको र प्रमाणसहित पक्राउ गरिएको जनाएको छ । घटनापछि टोलीले घटनास्थलमा आवश्यक मुचुल्का तयार गर्दै प्रारम्भिक अनुसन्धान अघि बढाएको छ ।
यस घुस प्रकरणले पुनः एकपटक स्थानीय तहमा हुने भ्रष्टाचार र अनियमितताप्रति गम्भीर प्रश्न उठाएको छ । अख्तियारले यस विषयमा थप अनुसन्धान अघि बढाइने जनाएको छ ।
