काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मधेश प्रदेशमा विशिष्टकृत सेवासहितको मिर्गौला उपचार केन्द्र स्थापना गरिने बताउनुभएको छ ।
नारायणी अस्पतालमा जडान भएका स्तन क्यान्सर जाँच गर्ने ९म्यामोग्राम० र निःसन्तान उपचारका लागि सेवा विस्तार भएको ‘आईयूआई युनिट’को हिजो शुभारम्भ गर्दै मन्त्री पौडेलले मधेश प्रदेशमा मिर्गौला रोगीको ‘डाइलाइसिस’ गर्नेको सङ्ख्या अत्यधिक रहेकाले विशिष्टकृत उपचार केन्द्रको आवश्यकता रहेको बताउनुभयो ।
आउँदो आर्थिक वर्षको बजेटमा मधेश प्रदेशमा विशिष्टकृत सेवासहितको मिर्गौलाको उपचार केन्द्र बनाउन बजेट समावेश गरिएको मन्त्री पौडेलेको भनाइ छ । सरकारले अहिले १३ हजारभन्दा धेरै मिर्गौला रोगीको डाइलाइसिस गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो ।
