वीरगञ्ज । सशस्त्र प्रहरीले पर्सा जिल्लामा सञ्चालन गरेको संयुक्त अपरेसनमा करिब ९ लाख ४७ हजार रुपैयाँ बराबरको तस्करीका लत्ताकपडा र किराना सामान बरामद गरेको छ । शुक्रबार सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–१० टाउनहल रोडस्थित बिकेसी इम्पेक्स नामक गोदाममा भारतबाट भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको कपडा फेला पारेको हो ।
बरामद कपडाको मूल्य छ लाख ५९ हजार ७ सय रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी डीएसपी देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।
त्यसैदिन, वीरगञ्जको आदर्शनगर र छपकैयाबाट पनि भारतबाट गैरकानुनी रूपमा नेपालतर्फ ल्याउँदै गरिएको थप दुई लाख ७९ हजार एक सय पाँच रुपैयाँ बराबरको लत्ताकपडा र किरानाका सामान समेत बरामद गरिएको छ । बरामद सबै सामानहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । सशस्त्र प्रहरीले तस्करीविरुद्ध निगरानी र नियन्त्रण कडा बनाइएको जनाएको छ ।
