काठमाडौं । सांसद डा अमरेशकुमार सिंहले न्यायाधीशको आचरण हेर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकको आकस्मीक समयमा सांसद सिंहले न्यायपालिकाको न्यायसम्पादनमा प्रश्न उठेको भन्दै न्यायाधीशको आचरण हेर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग गर्नुएभएको हो ।
न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुने गरेको र न्यायाधीशले न्यायसम्पादन गर्दा विभेदपूर्ण तरिकाले निर्णय गर्ने गरेको उहाँले आरोप लगाउनुभयो । उहाँले न्यायप्रणाली दूषित बन्दै गएकाबारे संसद्मार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । न्यायपरिषद्मा परेका उजुरीको छानबिन निकै कम हुने गरेको पनि उहाँले बताउनुभयो ।
त्यस्तै सांसद हितराज पाण्डेले शनिबार बिहान पृथ्वी राजमार्गको मुग्लिन नजिकै भएको सवारीसाधन दुर्घटनाको विषय उठाउँदै उक्त दुर्घटनामा बेपत्ता एक जनाको खोजी कार्य तीव्र पार्न सरकारसँग माग गर्नुभयो । पछिल्लो समय सडक दुर्घटना बढिरहेकाबारे पनि संसद्मार्फत् उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
त्यस्तै सांसद ध्रुवबहादुर प्रधानल हिउँदेबाली भित्र्याउने बेलामा हावाहुरी र असिना पानीले बालीनालीमा पुगेको क्षति विश्लेषण गरी किसानलाई राहत उपलब्ध गराउन माग गर्नुभयो । सांसद अशोककुमार चौधरीले जलवायु परिवर्तनको असरले कृषिबालीमा पारेको असर र वन्यजन्तु आक्रमण न्यूनीककरणका लागि आवश्यक कदम चाल्नुपर्ने धारणा राख्नुभयो ।



