काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्रीविरुद्ध छानविनका लािग संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा यस बिषयलाई उठाइरहने जनाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा काग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गर्दै समिति गठन नभएसम्म सदनमा यस बिषयलाई उठाइरहने जनाएको हो ।
कांग्रेस सांसदहरु उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेसका नेता सञ्जयकुमार गौतमलाई बोल्न समय दिनुभएको थियो । गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानन्त्री तथा गृहमन्त्रीको नाम मुछिएकोबारे संसदीय छानबिन समितिको माग गर्नुभयो ।
यो विषयमा प्रधानमन्त्रीले दिनुभएको जवाफ, प्रहरी प्रमुखले दिनुभएको जवाफले न्याय निरुपण कसरी हुन्छ भन्ने संशय पैदा भएको उहाले बताउनुभयो । संसदीय छानबिन समिति गठन नभएसम्म प्रमुख प्रतिपक्ष दलले यो विषय उठाइरहने उहाँले बताउनुभयो । गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गरिनु कन्फ्क्टि अफ इन्ट्रेस्ट रहेको पनि उहाँको भनाइ छ ।



