वीरगन्ज । वीरगन्जमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनिया नागरिक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाग शनिबार साँझ खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिकाका वडा नंबर १५ लक्ष्मणवास्थित एक घरमा छापा मारेर अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको हो ।
कल सेन्टर संचालन गरेर अवैध कारोबार संचालन गर्ने दुई चिनिया नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताए ।उक्त घरबाट दर्जनौं संख्यामा कम्प्युटर लगायतका विद्युतीय उपकरणहरु समेत बरामद भएको थापाले जानकारी दिए ।
पर्साका प्रहरी उपरिक्षक कुमोध ढुंगेलक नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त घरमा छापामारी गरेको थियो । नन्दु राउत कुर्मीको घरमा दुई महिना पहिला हेटौंको एक महिलाले भाडामा लिएको उक्त घरमा चिनिया नागरिकले संचालन गर्दै आएको अवैध धन्दाको गिरोहमा थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेकाहरुको नाम अहिले खुलाएको छैन् ।आइतबार पक्राउ परेका र बरामद सामानहरु बारे बिस्तृत रुपमा जानकारी गराइनले पर्सा प्रहरी प्रवक्ता थापाले बताए ।



