सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–४ प्रिपाहीमा बिहीबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । ३२ वर्षीय राजकुमार खंगको घाँटी रेटिएको अवस्थामा शव भेटिएको हो । डाक्नेश्वरी नगरपालिका–८ निवासी खंगको शव बिहान ८ बजेतिर स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको निमित्त प्रहरी प्रमुख डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन् । शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ ।
घटनाको प्रकृति हेर्दा योजनाबद्ध हत्या हुनसक्ने अनुमान गरिएको छ । अपराध अनुसन्धानलाई तीव्र बनाउँदै मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा खटाइएको प्रहरीले जनाएको छ । सप्तरीमा पछिल्ला दिनहरूमा यस्ता घटनाहरू दोहोरिँदा स्थानीयबासी त्रसित बनेका छन् ।
