काठमाडौं । देशभर मनसुन सक्रिय हुँदै गर्दा डेंगु संक्रमणको जोखिम समेत तीव्र गतिमा बढ्न थालेको छ। हालसम्म देशभर १,५६१ जनामा डेंगु पुष्टि भइसकेको छ भने पछिल्लो एक सातामात्रै ९१ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार यो वर्ष अघिल्ला वर्ष हरूभन्दा संक्रमणको दर चाँडै बढ्न थालेको छ, जुन आगामी भदौ–असोजसम्म अझ तीव्र हुन सक्ने अनुमान गरिएको छ ।
ईडीसीडीको तथ्यांकअनुसार हालसम्म सबैभन्दा धेरै डेंगु संक्रमित बागमती प्रदेशमा (३८६ जना) भेटिएका छन् । त्यसपछि गण्डकी (३२२ जना), कोशी (३१४ जना), लुम्बिनी (२६३), सुदूरपश्चिम (२२६), कर्णाली (३४) र मधेस प्रदेशमा २५ जना संक्रमित पुष्टि भएका छन् ।
देशका ७३ जिल्लामा डेंगु फैलिसकेको छ। राजधानी काठमाडौँ उपत्यकासहित अधिकांश शहरी क्षेत्रमा संक्रमण बढ्ने क्रम जारी छ । संक्रमण नियन्त्रणका विशेषज्ञहरू मनसुनको सुरुवातमै संक्रमण देखिनु गम्भीर संकेत भएको बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, लक्षणलाई सामान्य ठानी बेवास्ता गर्दा स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ ।
उनले डेंगु संक्रमणसँगै देखिने केही चेतावनी संकेतहरूबारे जानकारी दिनु जरूरी भएको बताए । जस्तैस्लगातार बान्ता,गिजा वा नाकबाट रगत आउनु,पेट दुख्ने,अत्यधिक थकान र कमजोरी,यस्ता लक्षणहरू देखा परेमा तुरुन्त चिकित्सकको परामर्श लिन सुझाव दिइन्छ ।
नेपालमा डेंगुका चारवटा सेरोटाइप फेला परिसकेका छन्, जसमा सेरोटाइप १, २ र ३ सबैभन्दा बढी देखिन्छ । डा। चन्द्रभाल झाका अनुसार एउटै व्यक्तिमा दुई वा बढी सेरोटाइपबाट संक्रमण हुँदा स्वास्थ्य अवस्था जटिल हुन सक्छ ।
डेंगुको जोखिमलाई नियन्त्रण गर्न सरकारले केन्द्र, प्रदेश र स्थानीय तहसँग मिलेर ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिएको छ । यस वर्ष मात्र कीटजन्य रोग नियन्त्रणका लागि ८ करोड रुपैयाँ स्थानीय तहमा विनियोजन गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार, प्रत्येक जिल्लामा ‘र्यापिड रेस्पोन्स टिम’ तयार अवस्थामा राखिएको छ । तर, सरकारी प्रयास मात्र पर्याप्त नभएको भन्दै उनले नागरिक तहबाट पनि सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
डेंगु फैलाउने एडिस प्रजातिका लामखुट्टेहरू विशेषतः घर वरिपरि जम्मा भएको पानीमा फुल पार्ने गर्छन् । त्यसैले वर्षातको बेला घरको छत, भाँडाकुडा, गमला, टायर जस्ता स्थानमा पानी जम्न नदिने, सफा राख्ने, जाल प्रयोग गर्ने, लामखुट्टे भगाउने साधनहरू प्रयोग गर्ने जस्ता सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरू आग्रह गर्छन् ।
