वीरगञ्ज । भारतको उत्तराखण्ड राज्यको केदारनाथ धामबाट गुप्तकाशीका लागि उडेको एक निजी हेलिकप्टर गौरीकुण्डको जङ्गल क्षेत्रमा दुर्घटना हुँदा पाइलटसहित ७ जनाको ज्यान गएको छ । आज बिहान ५:१७ बजे आर्यन एभिएसन कम्पनीको हेलिकप्टरले केदारनाथ हेलीप्याडबाट उडान भरेको केहीबेरमै दुर्घटना भएको हो ।
हेलिकप्टरमा ६ जना तीर्थयात्री र एक जना पाइलट सवार थिए । उडानका क्रममा मौसम एकाएक बिग्रिएपछि हेलिकप्टरले आकस्मिक ‘हार्ड ल्यान्डिङ’ गर्न खोज्दा दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ। सो दुर्घटनामा सबै यात्रुको घटनास्थलमै मृत्यु भएको पुष्टि भारतीय अधिकारीहरूले गरेका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट राजवीरका साथै यात्रुहरू विक्रम रावत, विनोद, तृष्टि सिंह, राजकुमार, श्रद्धा र १० वर्षीया बालिका राशि रहेका छन् ।
आर्यन एभिएसन कम्पनीको यो हेलिकप्टर केदारनाथ दर्शन सकेर तीर्थयात्रीहरूलाई लिएर गुप्तकाशी फर्किंदै थियो। दुर्घटनाको सूचना पाएलगत्तै उत्तराखण्ड सरकारले खोज तथा उद्धार टोलीलाई तुरुन्त घटनास्थलतर्फ पठाएको बताइएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूसँग मौसम अनुकूलताबारे विशेष सतर्कता अपनाउन निर्देशन पनि दिएका छन् ।
यस घटनाले धार्मिक पर्यटकीय क्षेत्रमा बढ्दो हवाई आवागमन र सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठाएको छ। केदारनाथ जस्ता उच्च भूभागमा मौसम छिट्टै फेरिने भएकाले हवाई उडानमा अझ सतर्कता आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
