काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले जीबी राईलाई मलेसिया सरकारको असहयोगका कारण पक्राउ गर्न कठिन भएको बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा उहाले इन्टरपोलमार्फत् रेड नोटिस जारी हुँदा पनि मलेसिया सरकारको असहयोगका कारण पक्राउ गर्न नसकिएको बताउनुभएको हो ।
उहाले जीबी राईलाई पक्राउ गरेर नेपाल ल्याउने बिषयमा गृहमन्त्रीले समेत तत्परता देखाएको जिकिर गर्नुभयो । महानिरीक्षक कुँवरले सहकारीसँग जोडिएका गृहमन्त्री रवि लामिछाने बिषयमा बिभिन्न कोणबाट बहस भएपनि अहिलेसम्म कुनै प्रमाण फेला पर्न नसकेको दावी गर्नुभयो । त्यस्तै महानिरीक्षक कुँवरले पीएसओ र गाडी छोडेर हिँडेपछि शंका उत्पन्न भएकाले माओवादी उपाध्यक्ष कृष्ण बहादुर महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको स्पष्ट पार्नुभयो ।
उहाले यस बिषयका कुनै दवाव र प्रभावमा नपरेको भन्दै अदालतले नै अस्पतालमा राखेर अनुसन्धान गर्नु भनेपछि हाजिरी जमानीमा छोडिएको बताउनुभयो । उहाले कांग्रेस सांसद बिनोद चौधरीको पासपोर्ट सिज नगरिएको र एक दिनमा नै बयान सकिने भएकाले प्रक्राउ नगरिएको स्पष्ट पार्नुभयो । बयान लिदा व्यक्तिगत स्वतन्त्रताको अतिक्रमण हुने भएकाले बयानका बिषयमा संसदमा जानकारी गराएको बताउनुभयो । किर्ते मुद्दामा अनुसन्धान जारी रहेको उहाले बताउनुभयो ।
