वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपालले पर्साका विभिन्न स्थानबाट १० लाख ८४ हजार १९० रुपैयाँ बराबरको अवैध सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । भन्सार छली चोरी निकासी तथा पैठारी गर्न लागिएका ती सामानहरु सशस्त्र प्रहरीले विशेष अभियान चलाएर नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट ८ लाख ३७ हजार १२० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपाल र नेपालबाट भारततर्फ भन्सार छली लुकाई छिपाई लैजाँदै र भित्र्याउँदै गरेको अवस्थामा दुई थान मोटर साइकल, किराना सामान, तयारी कपडा, मोबाइल पाट्र्स, मोटर पाट्र्स, फलफूल, मदिरा लगायतका विभिन्न सामानहरु बरामद गरिएको हो ।
ती सामान ओसारपसारमा प्रयोग भएका मोटरसाइकलहरु समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले अलौ तथा कोनिया इलाकाबाट १ लाख १८ हजार २०० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । बरामद गरिएका ती सामान पनि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रसौनिभाठा र सिर्सियाका बोर्डर आउट पोस्ट (बीओपी) बाट खटिएको टोलीले पनि १ लाख २८ हजार ८७० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । यी सामानहरु पनि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिँहले जानकारी दिए ।
