काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसदमा पेश गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
राष्ट्रपति पौडेल संसद भवन परिसरमा आइपुग्दा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतले स्वागत गरेका थिए । नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई सम्मान गारत अर्पण गरेको थियो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले परिवर्तन र उपलब्धिप्रति जनतालाई गौरववोध गराउन, सरकारप्रति जनताको विश्वास जगाउँदै मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनताको बलिदान र संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ रहेको उल्लेख गरे ।
राष्ट्रपतिले अराजकता फैलाउने विरुद्ध सरकार कठोर रहने चेतावनी दिए । गणतन्त्रविरुद्धका प्रतिक्रियालाई कडा प्रतिवाद गरिने स्पष्ट पार्दै उनले संविधानको समीक्षा गरी आवश्यक संशोधन गरिने बताए । यसका लागि आपसी सहमति जुटाएर संविधानका कमी कमजोरी सच्याइने उनको भनाइ थियो ।
सरकारको नीति तथा कार्यक्रममा राजनीतिक स्थिरतालाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । विकास निर्माणका क्रममा देखिएका कमजोरी सुधार गर्न ढाँचा परिवर्तन गर्ने, विगतका विकास कार्यक्रमको पुनरावलोकन गरी स्रोत सुनिश्चित भएका आयोजनालाई प्राथमिकता दिने र सम्भावना नभएका आयोजना स्थगित वा खारेज गर्ने योजना पनि सरकारले अघि सारेको छ ।
