काठमाडौं । नेपालले अब भारतबाट दिनमा १५ घण्टा विद्युत् आयात गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, शुक्रबारदेखि बिहान ६ बजे देखि साँझ ५ बजेसम्म र राति २ देखि बिहान ६ बजेसम्म गरी कुल १५ घण्टा बिजुली ल्याइनेछ ।
४ सय केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत भारतले नेपाललाई दैनिक ६ सय मेगावाटसम्म विद्युत् आपूर्ति गर्न स्वीकृति दिएको हो । यसअघि नेपालले दैनिक १६ घण्टासम्म बिजुली आयात गर्दै आएको थियो, जुन अब एक घण्टा घटाइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, “हामीलाई विद्युत् आपूर्तिमा सहयोग गरेकोमा भारतप्रति आभारी छौं । मे र जुन महिना नेपालको जलस्रोतबाट उत्पादन कम हुने भएकाले यो आपूर्ति महत्वपूर्ण छ ।” उनका अनुसार, नदीनालामा बहाव बढ्दै गएकाले आन्तरिक उत्पादनमा सुधार आउने अपेक्षा गरिएको छ ।
बढ्दो तापक्रम, भारतमा चलिरहेको इन्डियन प्रिमियर लिग (IPL) र बिहारको चुनावका कारण भारतभित्रै विद्युत् माग उच्च भएकाले नेपाललाई सापेक्ष आपूर्ति गरिएको जनाइएको छ । हाल टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट थप ५४ मेगावाट विद्युत् आयात भइरहेको छ ।
नेपालले इन्डियन इनर्जी एक्सचेन्ज (IEX) को डे-अहेड र रियल टाइम बजारमार्फत प्रतिस्पर्धात्मक मूल्यमा बिजुली खरिद गरिरहेको छ । नेपाल–भारत विद्युत् आदानप्रदान समिति (PEC) मार्फत अधिकतम ३५० मेगावाट आयातको अनुमति भए पनि हाल २०० मेगावाटमात्र ल्याइँदैछ ।
प्राधिकरणले औद्योगिक क्षेत्रलाई प्राथमिकता दिँदै, आन्तरिक उत्पादनले नपुगेका खण्डमा अधिकतम मूल्यमा पनि आयात गरेर विद्युत् आपूर्ति नियमित गर्ने रणनीति अपनाएको जनाएको छ ।
