काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजको उन्नतीका लागि राजनीतिलाइ माध्यम बनाउनुपर्ने बताउनुभएको छ । ५९ औं अन्तराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मुलन दिवसका अवसरमा नेपाल उत्पीडित मुक्ति समाजले ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकमा समानता, शान्ति, बिकासका साथ समग्र समाजको उन्नतीका लागि राजनीतिलाई माध्यम बनाउनुपर्ने बताउनुभएको हो ।
सरकारबाट हट्नुपर्यो भनेर संसद अवरुद्ध गर्ने हल्ला गर्ने अवस्थाका लागि मात्रै लोकतन्त्र नल्याएको भन्दै उहाले जनताका लागि वास्तविक लोकतन्त्रको अभ्यास गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाले समृद्ध नेपाल सुखी नेपालको अभियानमा अधिकारमात्रै नभई सुरक्षा र सम्मानलाई पनि जोडेको बताउनुभयो । त्यस्तै ओलीले मुलुकमा जातिय भेदभाद अन्त्यको अभियान एमालेले सुरु गरेको र एमालेलै पहलमा संविधानमा ती बिषयहरुलाई मौलिक हकमा राखिएको जिकिर गर्नुभयो ।
ओलीले कम्युनिष्ट आन्दोलन समानता र मानव स्वतन्त्रताको आन्दोलन भएको बताउनुभयो । कर्मबाट जिम्मेवारीमा तलमाथि हुन सक्ने भए पनि जन्मबाट कोही सानो, ठुलो नहुने उहाँले स्पष्ट पार्नुभयो । एमाले कुनै एउटा भूगोल, धर्म, जात वा समुदाय विशेषको पार्टी नभएको ओलीले स्पष्ट पार्नुभयो ।
