वीरगञ्ज । बारा प्रहरीले लागूऔषध तस्करहरूको सञ्जाललाई तहसनहस पार्दै तीनवटा छुट्टाछुट्टै कारबाहीहरूमा प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ भने एक भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ गर्न सफल भएको छ ।
पहिलो घटना बैशाख ४ गते राति करिब पौने १२ बजे सिमरा प्रहरीको टोलीले बजनीमा गरेको आकस्मिक चेकजाँचमा भएको थियो । हेटौंडाबाट वीरगंजतर्फ तीव्र गतिमा आइरहेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकेर खानतलासी गर्दा, चालक दलका सदस्यहरूको चलाखीपूर्ण प्रयासलाई विफल पार्दै १९ वटा पोकामा लुकाएर राखिएको करिब ३०५ किलो गाँजा फेला परेको थियो ।
प्रहरीले तत्कालै ट्रकका चालक, मकवानपुर कैलाश गाउँपालिका–४ का ३२ वर्षीय राजन लामा, ट्रकमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ का ३३ वर्षीय ईश्वर लोप्चन र यस ओसारपसारको मुख्य योजनाकार मकवानपुर कैलाश गाउँपालिका–१० का २७ वर्षीय जिवन ठोकरलाई पक्राउ गरेको छ ।
त्यसैगरी, सोही दिन बिहान साढे ८ बजे इलाका प्रहरी कार्यालय प्रसौनीको टोलीले प्रसौनी गाउँपालिका–४ खुटवाका ३१ वर्षीय पवन कुमार साहको घरमा अप्रत्याशित छापा मारेको थियो । प्रहरीले उनको घरभित्र लुकाएर राखिएको २ किलो १४० ग्राम गाँजा बरामद गरेको छ । प्रारम्भिक अनुसन्धान अनुसार, साहले आफ्नो घरलाई नै लागूऔषधको बिक्री वितरण केन्द्र बनाएको रहस्य खुलेको छ ।
यति मात्र कहाँ हो र १ प्रहरीको सक्रियता बैशाख ५ गते बिहान पनि जारी रह्यो । करिब साढे २ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले पचरौता नगरपालिका–१ मुसहरीटोलस्थित मकैबारीमा एक संदिग्ध व्यक्तिलाई पिछा गर्यो ।
टाउकोमा चार पोकामा बाँधेर ६० किलो गाँजा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा भारतीय नागरिक राजबिहारी कुमारलाई रंगेहात पक्राउ गर्न प्रहरी सफल भयो । उनी भारत बिहार प्रान्त मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीयाका २५ वर्षीय बासिन्दा हुन् ।
बरामद गरिएको गाँजा र पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान थालेको छ । बारा प्रहरीको यी लगातारका सफलताहरूले यस क्षेत्रमा जरा गाडेको लागूऔषध तस्करीको सञ्जाललाई कमजोर पार्ने बलियो संकेत दिएको छ ।
