काठमाडौं । मधेशवादी अभियन्ता तथा मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजका विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार डा. अहिराजविरुद्ध परेको जाहेरीका आधारमा अनुसन्धान जारी छ । जाहेरवाला पक्षको दाबी पुष्टि हुने/नहुने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिने उनले बताए ।
जाहेरीमा डा. अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ । पीडितले शुरूमा राष्ट्रिय महिला आयोगमा उजुरी दिएकी थिइन् र पछि केही महिला अधिकारकर्मीको सहयोगमा प्रहरीमा पुगेकी हुन् ।
पीडितले गत माघ १० गते जिल्ला प्रहरी परिसर, भद्रकालीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरी फागुन ३ गते प्रहरी कार्यालयको दर्ता किताबमा अभिलेखित भएको थियो । सोही आधारमा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ आदेश माग गरिएको पीडितको पक्षमा काम गरिरहेकी एक सहयोगीले जानकारी दिइन् ।
उनका अनुसार पक्राउ पुर्जी जारी भएको चार दिन भइसकेको छ, तर अहिराज अझै प्रहरीको सम्पर्कमा आएका छैनन् । जाहेरवालीको पहिचान गोप्य राखिएको छ र उनलाई परिवर्तित नाम २६ परिसर ३२ (०८१–०८२) बाट उल्लेख गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
