काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले सवारी दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव दिएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा उनीहरुले पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको र धेरै जनाको ज्यान गएको भन्दै सवारी दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव दिएका हुन् ।
राष्ट्रियसभा सदस्य बिमला घिमिरेले जीर्ण सडक, चालकको लापरबाही, सवारी साधनको बिग्रदो अवस्था, सडकमा सवारीको चाप बढ्नुलगायत कारणबाट दुर्घटना बढिरहेको बताउनुभयो । सवारी साधनको परीक्षण, सडकको स्तरोन्नति, चालक तथा सहचालकलाई तालिम दिनुपर्ने उहाले बताउनुभयो । घिमिरेले सुरक्षाका मापदण्ड अपनाउनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
त्यस्तै राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले कर्णाली प्रदेशमा धेरै सवारी दुर्घटना भइरहेको अवस्थामा सडकलाई स्तरोन्नति गरी सुरक्षित यात्राको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।
त्यस्तै अर्का सदस्य जयन्ती राईले सडक दुर्घटनामा मृत्यु हुनेको संख्या हरेक बर्ष बढ्दै गएको भन्दै दुर्घटना न्यूनीकरणमा बिशेष ध्यान दिन माग गर्नुभयो । उहाले सवारी साधानहरुको अनुगमन गर्दै सडक स्तरोन्नतीमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस्तै राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय, तुलप्रसाद विश्वकर्मा लगाएतले पनि सवारी साधनको दूरावस्था, चालकको लापरबाहीलगायत कारणबाट दुर्घटना बढिरहेको भन्दै सडक दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।



