काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेसले बुधबार पनि प्रतिनिधिसभामा विरोध जनाएको छ । बुधबार बैठक सुरु हुने बितिकै कांग्रेसका सांसदहरु उठेर विरोध जनाएका थिए । त्यसलगतै सभामुख देवराज घिमिरेले कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई बोल्न समय दिनुभएको थियो । न्यौपानले स्वार्थ बाझिने गरि सहकारी प्रकरणमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै आपत्ती जनाउनुभयो ।
गृहमन्त्रीमाथि अनुसन्धान गर्न सरकारले संसदीय समिति बनाउन नमाने सरकारलाई सदन नचाहेको रहेछ भन्ने बुझिने उहाले बताउनुभयो । उहाले गृहमन्त्रीले चार बर्ष प्रतिपक्षीले सदन अवरोध गरोस, हामी सत्ता चलाउछौं भन्ने अभिव्यक्तिप्रति पनि आपत्ती जनाउनुभयो । न्यौपानले सरकारले संसदीय छानबिन समिति गठन गरेर सहकारी ठगीका विषयमा छानबिन सुरु नगरेसम्म कांग्रेसले निरन्तर विरोध गर्ने धारणा राख्नुभयो ।
सांसद न्यौपानेले गृहमन्त्रीप्रतिको जवाफका क्रममा प्रधानमन्त्रीले प्रमाण छैन भनेपछि लामिछानेविरुद्ध प्रयाप्त प्रमाण रहेको जिकिर गर्नुभयो । उहाले आगामी सदनको बैठकसम्म पनि कांग्रेसको माग पुरा नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिनुभयो ।



